नियम ३१
सम्पत्ति विवरण नबुझाउनेको विवरण दिनु पर्ने
(१) ऐनको दफा ३१क. को उपदफा (१) बमोजिम तोकिएको म्यादभित्र सम्पत्ति विवरण पेश नगर्ने सार्वजनिक पद धारण गरेको व्यक्तिको विवरण सोही उपदफाको प्रयोजनको लागि तोकिएको निकाय वा अधिकारीले पैंतीस दिनभित्र आयोगलाई दिनु पर्नेछ ।
(२) ऐनको दफा ३१क. को उपदफा (२) बमोजिमको थप म्यादभित्र पनि सम्पत्तिको विवरण पेश नगर्ने व्यक्ति उपर सोही उपदफाको प्रयोजनको लागि तोकिएको निकाय वा अधिकारीले अवैध सम्पत्ति राखेको अनुमानको आधारमा छानवीन गरी त्यसको प्रतिवेदन तीस दिनभित्र आयोगलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) सार्वजनिक पद धारण गरेको व्यक्ति उपर अख्तियार दुरूपयोग गरेको विषयमा आयोगले छानविन गर्दा सम्बन्धित निकाय वा अधिकारीबाट सम्पत्ति विवरणको अभिलेख मगाउने वा निजसँग तोकिएको समयसम्मको सम्पत्ति विवरण पेश गर्नका लागि मुनासिव समय दिई सम्पत्ति विवरण लिन सक्नेछ ।
(४) यस नियम बमोजिम आयोगलाई प्राप्त जानकारी, सम्पत्ति विवरण वा छानविन प्रतिवेदनलाई आयोगले उजुरी वा प्रमाणको रूपमा ग्रहण गरी प्रचलित कानून बमोजिम अनुसन्धान तहकिकात गर्न सक्नेछ ।